आज हरितालिका तीज

12006254_1034348223256286_9028251556069128823_nनेपाली हिन्दु महिलाले देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै बुधबार हरितालिका तीज मनाउँदै छन् ।
तीजको पूर्वसन्ध्यामा मंगलबार ‘दर खाने’ पर्व मनाइएको छ । त्यसक्रममा छोरीचेलीलाई बोलाएर फलफूल, दही, रोटीलगायत मिष्ठान्न खुवाउने चलन छ । तीजका अवसरमा बुधबार महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर पूजा सामग्री तयार पार्छन् ।
त्यसपछि पशुपतिनाथलगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिन्छन् ।
शिवपुराणमा उल्लेख भएअनुसार पार्वती बाल्यकालदेखि नै महादेवप्रति भक्तिभाव राख्थिन् । बालसुलभ खेलका क्रममा समेत बालुवाको शिवलिंग बनाउन रुचाउँथिन् । हुर्किएपछि तीजको व्रत बसी महादेव पति पाउन सफल भएको विश्वास हिन्दु धर्मावलम्बीमा छ । सोही बेलादेखि तीजको व्रत बस्न थालिएको धर्मग्रन्थमा उल्लेख छ । सोही कारण अविवाहित महिलाहरू असल पति पाउने आकांक्षामा यो व्रत बस्छन् । रातभर जाग्राम बसेर शिवको पूजाअर्चना गर्ने गरिन्छ ।
धर्मग्रन्थअनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले शिवलाई पतिका रूपमा ग्रहण गर्ने बताएर व्रत बसिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ ।