१६ भदौ, जनकपुर । आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण बुधबार दिनभर जनकपुर तनावग्रस्त भएको छ । स्थति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ ।घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा वीजय साह, सुरज साह, मनिष यादव छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विहानबाटै प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले दिउँसोबाट मुख्य चोकहरुलाई लक्षित गरेर निषेधित क्षेत्र घोषणा गरेको छ ।
तर, निषेधाज्ञा तोड्दै प्रदर्शन भयो । प्रदर्शनकारीले टायर बाल्नुका साथै सडकमा ढुंगा, मुढा र पोलहरु राखेर अवरोध गरेका थिए । त्यस क्रममा राम चोक, शिव चोक, भानु चोक लगायतका विभिन्न क्षेत्रमा झडप भएको छ ।
झडपमा परी तमलोपा धनुषा अध्यक्ष परमेश्वर साहसहितका आन्दोलनकारी घाइते भएका छन् । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार नै पत्रकार र कानून व्यवसायीहरुले आन्दोलनको समर्थनमा ऐक्यवद्धता र्याली निकालेका छन् ।