बोलबम तिर्थयात्री सवार बसमा भेटियो सात सय लिटर रक्सी

तिर्थयात्राका नाममा मदिराको व्यापार

२१ भदौ, रौतहट । साउन भदौको महिनामा प्राय मानिसहरु बोलबम यात्रामा जाने गर्छन् । यसरी शिवको धाम यात्रामा जाने यात्रुबाहक सवारी साधनमा ब्यानर समेत झुण्डाइएको हुन्छ । तर तीर्थयात्राको ब्यानर झुण्डाइएको बसलाई जाँच गर्दा प्रहरीले सात सय लिटर भन्दा बढी मदिरा बरामद गरेको छ ।

बोलबम तीर्थयात्राको व्यानर टाँगेर चन्द्रनिगाहपुरबाट गौर तर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्वरको बसलाई सुकदेव चोकमा जाँच गर्दा पाँच सय लिटर र चन्द्रनिगाहपुरबाट गौर तर्फ नै जाँदै गरेको ना ३ ख ५५३९ नम्वरको बसलाई सन्तपुर नजिकै जाँच गर्दा करिव दुईसय लिटर घरेलु मदिरा बरामद भएको हो ।
तीर्थयात्राको बसलाई प्रहरीले पनि त्यति जाँच नगर्ने मौकाको फाइदा उठाउदै मदिरा ओसार पसार गर्ने बस र बसका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुधिरराज शाहीले बताए ।