अखण्ड बागलुङको माग गर्दै आन्दोलनकारी सडकमै सुते

baglungबागलुङ, भदौं १९ गते । बागलुङ जिल्लालाई प्रदेश नम्बर चार र पाँचमा विभाजन गरी संविधानसभामा प्रस्तुत विधेयकमाथि संशोधन गर्न माग गर्दै बागलुङका आन्दोलनकारी सडकमै सुतेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत बागलुङ बजारमा सडकमै सुतेर उनीहरुले नाराबाजी गरेका थिए । 

शनिबार बिहान बागलुङ बजारको मुख्य सडकमा सुतेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले समग्र बागलुङलाई प्रदेश नम्बर चारमै राख्न आग्रह गरेका थिए । उनीहरुले आफुहरु दुई सातादेखि निरन्तर शान्तिपूर्ण आन्दोलनमा उत्रिरहेको उल्लेख गर्दै माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । संविधानसभामा प्रस्तुत विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम दिन शनिबार आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइएको उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए । एकीकृत बागलुङको माग गर्दै बागलुङका राजनीतिक दल र सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम आव्हान गरेका थिए ।
भदौं ६ गतेदेखि शुरु भएको बन्दका कारण बागलुङको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्लाका व्यापारिक केन्द्रहरु बागलुङ बजार, बुर्तिवाङ बजार, हटिया बजार, खर्वाङ बजार, कुश्मीसेरा बजार र बरेङ बजार पूर्णरुपमा बन्द भएका छन् । बजारसँगै यातायातका साधनहरु पूर्णरुपमा बन्द हुँदा गाउँ गाउँमा खाद्यान्नको समेत अभाव हुन थालेको छ ।  बन्दका बेला यातायातका साधन नचल्दा दैनिक उपभोग्य बस्तु लगायत अत्यावश्यक सामाग्रीका लागि खच्चडको प्रयोग गर्नु परेको स्थानीय व्यावसायीहरु बताउँछन् । बन्दका कारण सबैभन्दा बढी कुखुरापालक किसानहरु मर्कामा परेका छन् । व्यावासयीक रुपमा कुखुरापालन गरिरहेका किसानहरुलाई दाना ढुवानीमै समस्या भएको छ । 
बन्दसँगै दिनदिनैको आन्दोलनले साना बालबालिकालाई समेत प्रभावित पारेको छ । विद्यालय जाने समयका बालबालिकाहरु विद्यालय बन्द भएपछि आन्दोलनकारीसँग नाराजुलुसमा हिड्ने गरेका छन् । ‘केहीले त झण्डै फेला पारेछन र अखण्ड बागलुङ जिन्दावाद भन्दै बाल जुलुसनै निकाल्ेन गरेका छन् । घरमा होमवर्क गर्ने भन्दापबिन कतिखेर आन्दोलनकारी आउँछन भनेर बाटो कुरेर बस्छन् ।’ अभिभावक रामजी शर्माले भन्नुभयो । आन्दोलनका कार्यक्रमहरु परिवर्तन गर्न नसक्दा बन्द संस्कृति बढेको भन्दै स्थानीयले असन्तुष्टी समेत जनाएका छन् ।