७ भदौ, धनगढी । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको छ ।
सीमांकनको विरोधमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सोमबार सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्याक्रम थियो । तर, निशेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको छ ।
छुरा, भाला, बन्चरोसहितका घरेलु हतियार बोकेर आएका ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा आए । आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो ।
आन्दोलनकारीले ६ पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमण गरेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई आन्दोलनकारीले भालाले हानेर ढालेका थिए ।
आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको छ । प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भएको छ ।
यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको छ । आन्दोलनकारीले हवल्दार थारुलाई आगो लगाएर जलाएका थिए ।
हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको छ । सहायक हवल्दार नेत्र साउदको छोरा हुन् । तीन जना आन्दोलनकारीको मृत्यु भएको बताइए पनि पुष्टि हुन सकेको छैन । केहीले मृतकको संख्या धेरै बताए पनि पुष्टि भएको छैन ।
हिंसात्मक झडपपछि प्रहरीले फायर खोलेको थियो । गोली चल्न थालेपछि प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो २ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह झडप साम्य भए पनि टीकापुर तनावपूर्ण छ ।