सप्तकोशीले स्पर कटान गरेपछि मुख्य तटबन्ध जोखिममा

नेपाल र भारतका सुरक्षाकर्मी मर्मतमा सक्रिय

फाइल तस्वीर
२२ भदौ, काठमाडौं । सप्तकोशी नदीले पूर्वतर्फको स्पर कटान सुरु गरेपछि मुख्य तटबन्ध खतरामा परेको छ । प्रकाशपुर ५ को २६ र २८ नम्बरको स्परमा कटान भएको हो ।

फाइल तस्वीर
जोखिम बढेपछि नेपाल र भारतका सुरक्षाकर्मीहरुले तारजाली भरेर बाँधलाई बलियो बनाउने कोशिस गरेका छन् । भारत तर्फको कोशी प्रोजेक्टका प्रमुख इन्जिनियर प्रकाश दास पनि सो क्षेत्रमा छन् ।

अहिले कोशी नदीमा पानीको बहाव उच्च छ । तर, स्थानीय प्रशासनले भने खतरा नरहेको दाबी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले स्परको नोजको बेस बाढीले बगाएपछि केही समस्या भए पनि मर्मत भइरहेकाले खतरा नरहेको बताए । उनले चार घण्टामा पहिलेकै अवस्थामा स्परलाई ल्याउने गरी काम भइरहेको जानकारी दिए ।
२०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध फुट्दा नेपालका चार गाविसका बासिन्दा प्रभावित भएका थिए । हजारौं हेक्टर खेतीयोग्य जग्गा बगरमा परिणत भयो भने कैयौं विस्थापित भए । कोशी पीडितहरुले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलनसमेत गर्दै आएका छन् ।