चुरोटको सूर्ति राख्ने ठाउँमा लुकाई चीन लैजान लागेको विदेशी मुद्रासहित ३९ वर्षीय चिनिया नागरिक यी वाङ पक्राउ परेका छन् ।
चाइना एयरको ४०८ नम्बरको उडानबाट ल्हासा जान लागेका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ६० हजार अमेरिकी डलर र २० हजार ४८ चिनिया युआन तथा चप्पलको सोलभित्र लुकाई लैजान लागेको १४ हजार अमेरिकी डलर, युरो ७६ हजार, स्वीस फ्रांक ४८ हजार बरामद भएको छ ।
चेकजाँच गर्दा २० वटा बट्टाभित्र चुरोटकै स्वरुपमा डलर राखिएको भेटिएको छ । चुरोटको सूर्ति राख्ने भागमा सयदरका दुईवटा डलर गोलो बनाई राखी बाहिरबाट सेतो चुरोटकै कागजले बेरी तथा चप्पलको सोलभित्र उक्त मुद्रा लुकाएका थिए ।
महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायब महानिरीक्षक बिजयलाल कायस्थले नेपालमा यस किसिमको नयाँ शैली अपनाई विदेशि मुद्रा तस्करी गर्ने व्यक्ति पहिलो पटक पक्राउ परेको बताए ।
उनको साथबाट १ थान ल्यापटप र १ थान मोबाइलसमेत बरामद भएको छ ।
विगत ४ वर्षदेखि पटक पटक नेपाल आउने जाने गरेका वाङ पछिल्लो पटक १५ अगस्ट २०१५ मा नेपाल आई ठमेलस्थित नामचो गेष्ट हाउसमा बसेको खुल्न आएको छ ।